< भजनसंग्रह 77 >

1 सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, आसापको भजन। मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ, मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ। 2 जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन। 3 हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला 4 तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ। 5 मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू; 6 रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो: 7 “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन? 8 के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्? 9 के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?” सेला 10 तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।” 11 म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। 12 म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु। 13 हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र? 14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ। 15 तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला 16 हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो। 17 बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के। 18 तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो। 19 तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्। 20 तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।

< भजनसंग्रह 77 >