< भजनसंग्रह 44 >
1 सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको मस्किल। हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौँ; हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्, तपाईंले प्राचीन कालमा, उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।
2 तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो, र हाम्रा पितापुर्खाहरूलाई बसाल्नुभयो; तपाईंले जाति-जातिहरूलाई सताउनुभयो, र हाम्रा पितापुर्खाहरूलाई वृद्धि गराउनुभयो।
3 तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्, न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्; तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए; किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
4 तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ; जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।
5 तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ; तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ।
6 म आफ्नो धनुमा भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय गराउँदैन;
7 तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ; तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।
8 दिनभरि नै हामी आफ्ना परमेश्वरमा गर्व गर्छौँ, र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला
9 तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ; तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।
10 तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ; र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।
11 तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ; र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ।
12 तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ; तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन।
13 हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र हाँसोको पात्र बनाउनुभएको छ; छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ।
14 तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ; मानिसहरू हामीलाई देखेर टाउको हल्लाउँछन्।
15 मेरो गिल्ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले, बदला लिने शत्रुहरूका कारणले,
16 मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ, र मेरो अनुहार लाजले ढाकिएको छ।
17 यी सबै कुरा हामीमाथि परिआएका छन्; यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ, हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।
18 हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्; हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्।
19 तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्ने ठाउँ बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।
20 यदि हाम्रा परमेश्वरको नाम हामीले बिर्सिएका छौँ भने, अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,
21 के परमेश्वरले त्यो कुरा जान्नुहुने थिएन र? किनकि उहाँले हाम्रा हृदयका गुप्त कुराहरू समेत जान्नुहुन्छ।
22 तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।
23 हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्।
24 किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ?
25 हामी धुलोसम्मै झारिएका छौँ; हाम्रो पेट जमिनमै टाँसिसकेको छ।
26 उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!