< भजनसंग्रह 27 >

1 दावीदको भजन। याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्‍नु? याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु? 2 जब दुष्‍टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्। 3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु। 4 याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ। 5 किनकि सङ्कष्‍टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ। 6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु। 7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्। 8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु। 9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्‍वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्। 10 मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ। 11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्। 12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्। 13 म यसमा अझ विश्‍वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु। 14 याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।

< भजनसंग्रह 27 >