< भजनसंग्रह 130 >
1 आरोहणको गीत। हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
2 हे प्रभु, मेरो सोर सुन्नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्!
3 हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र?
4 तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।
5 म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।
6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु।
7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ।
8 उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।