< भजनसंग्रह 107 >
1 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।
2 याहवेहले छुटकारा दिनुभएकाहरूले वैरीहरूका हातबाट छुटाइएकाहरूले,
3 विभिन्न देशहरूबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:
4 कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्, र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।
5 तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए।
6 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।
7 उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्याउनु भएर, तिनीहरूलाई बास बस्न सक्ने सहरमा पुर्याउनुभयो।
8 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति, तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
9 किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ, र भोकाहरूलाई असल आहाराले सन्तुष्ट पार्नुहुन्छ।
10 कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए, कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्ट भोगिरहेका थिए,
11 किनकि तिनीहरूले परमेश्वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए र सर्वोच्च परमेश्वरको योजनालाई तिरस्कार गरेका थिए।
12 यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो; तिनीहरूले ठक्कर खाए, तर मदत गर्नलाई कोही थिएन।
13 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो।
14 उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो; र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।
15 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;
16 किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ, र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
17 कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने, र आफ्नै अधर्मका कारण कष्ट भोगे।
18 तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्कै भए, र मृत्युका ढोका नजिक पुगे।
19 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो।
20 उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो, तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।
21 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
22 तिनीहरूले धन्यवादका बलि चढाऊन् र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!
23 कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए; तिनीहरू महासागरका व्यापारीहरू थिए।
24 तिनीहरूले याहवेहका कामहरू देखे, गहिरो सागरमा तिनीहरूले उहाँका अद्भुत कार्यहरू देखे।
25 किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो, जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।
26 छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे; यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।
27 तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे; तिनीहरूका सबै सिपहरू बेकार साबित भए।
28 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।
29 उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए।
30 आँधी शान्त हुँदा तिनीहरू खुशी भए; र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्याउनुभयो।
31 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
32 तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्च पारून्, र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!
33 उहाँले नदीहरूलाई मरुभूमिमा, र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।
34 त्यहाँका बासिन्दाहरूका दुष्टताको कारणले गर्दा, मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।
35 उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;
36 उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।
37 तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए, अनि प्रशस्त उब्जनी कटनी गरे;
38 उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।
39 त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;
40 उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।
41 तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।
42 धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।
43 जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।