< हितोपदेश 13 >
1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
2 आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्वासघातीहरू हिंसाकै चाहना गर्छन्।
3 आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ।
4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्।
5 धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ।
6 धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्टताले पापीलाई नष्ट पार्छ।
7 कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ।
8 कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्नुपर्दैन।
9 धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्टको बत्ती निभाइन्छ।
10 अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्लाह लिनेहरूले बुद्धि पाइन्छ।
11 बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
12 ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।
13 अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ।
14 बुद्धिमान्को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
15 असल न्यायले निगाह प्राप्त गर्छ; तर विश्वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्याउँछ।
16 हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ।
17 दुष्ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्वासयोग्य दूतले चङ्गाइ ल्याउँछ।
18 अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।
19 पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्टताबाट फर्कन घृणा गर्छ।
20 बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
21 पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो।
22 असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।
23 गरिबको नजोतिएको जमिनले प्रशस्त अन्न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ।
24 आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।
25 धर्मीले पेटभरि खान्छ; तर दुष्टको पेट भोकभोकै हुन्छ।