< गन्ती 29 >

1 “‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो। 2 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। 3 साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग मसिनो पिठो चढाउनू; 4 र सात वटा थुमाहरूमा प्रत्येकसँग दश भागको दुई भाग मसिनो पिठो मिसाउनू। 5 तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्‍चित गर्नू। 6 यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्‍नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्‍नादार अग्निबलिहरू हुन्। 7 “‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू र कुनै पनि काम नगर्नू। 8 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। 9 अन्‍नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू; 10 र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्‍नबलि चढाउनू। 11 त्यसमा प्रायश्‍चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्‍नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। 12 “‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। 13 याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। 14 तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो, 15 र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। 16 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 17 “‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्। 18 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। 19 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 20 “‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। 21 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 22 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 23 “‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। 24 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 25 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 26 “‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। 27 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 28 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 29 “‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। 30 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। 31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 32 “‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। 33 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। 34 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 35 “‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। 36 याहवेहलाई मनमर्दो बास्‍नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। 37 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू। 38 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। 39 “‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्‍नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’” 40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।

< गन्ती 29 >