< मीका 4 >

1 अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्। 2 धेरै राष्ट्रहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। 3 उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। 4 हरेक मान्छे आफ्नै दाखको बोटमुनि र आफ्नै नेभाराको रूखमुनि बस्‍नेछ; अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ। 5 सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा सदासर्वदै हिँड्नेछौँ। 6 याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु; म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु, जसमाथि मैले शोक ल्याएको थिएँ। 7 म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु, देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु। त्यसपछि याहवेहले सियोन पर्वतमा, तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ। 8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।” 9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, के तेरा निम्ति कुनै राजा छैनन्? के तेरो शासक नष्‍ट भएको छ? के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्? 10 हे सियोनकी छोरी यरूशलेम, एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा; किनकि अब तैँले यो सहर छोड्नुपर्छ, र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ। तँ बेबिलोनमा जानेछस्; त्यहाँ तँलाई छुटकारा दिइनेछ। त्यहाँ याहवेहले तँलाई तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ। 11 तर अहिले धेरै राष्ट्रहरू तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्‍ट पारियोस् र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!” 12 तर तिनीहरूले याहवेहका विचारहरू जान्दैनन्; तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्; किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ। 13 “हे सियोनकी छोरी, उठ् र दाइँ गर्; किनकि म तँलाई फलामका सिङहरू दिनेछु; म तँलाई पित्तलका खुरहरू दिनेछु, र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।

< मीका 4 >