< मर्कूस 1 >

1 परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुवात, 2 यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” 3 “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’” 4 यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए। 5 यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। 6 यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे। 7 तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ। 8 म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।” 9 त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दनमा बप्‍तिस्मा लिनुभयो। 10 जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। 11 अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्‍न छु।” 12 पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, 13 अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे। 14 यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। 15 उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर!” 16 जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” 18 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। 19 उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। 20 तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे। 21 उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथको दिन सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो। 22 मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो। 23 त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, 24 “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” 25 येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!” 26 अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, र चिच्याएर त्यसबाट निस्क्यो। 27 तब ती मानिसहरू अति छक्‍क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।” 28 उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो। 29 उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। 30 त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। 31 येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्। 32 त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। 33 सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; 34 अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे। 35 एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। 36 सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए। 37 जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” 38 येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।” 39 यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो। 40 एक जना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” 41 दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” 42 तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो। 43 येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो: 44 “यो कुरा कसैलाई नभन्‍नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।” 45 तर त्यो बाहिर गयो, र खुल्‍लमखुल्‍ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्‍न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।

< मर्कूस 1 >