< योएल 1 >
1 पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।
2 हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन, र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्; अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।
4 जे सलहको झुण्डले छोडेको थियो, ती ठूला सलहहरूले खाइदिए; जे ठूला सलहहरूले छोडेका थिए, ती साना सलहहरूले खाइदिए; जे साना सलहहरूले छोडेका थिए, ती अरू सलहहरूले खाइदिए।
5 जाग, हे मतवालाहरू हो, र रोओ! हे सबै मद्य पिउनेहरू हो, विलाप गर; नयाँ मद्यको कारण विलौना गर; किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।
6 एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
7 त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, र मेरा नेभाराका रूखहरू नष्ट गरेको छ। त्यसले हाँगाहरूलाई लाछेको छ, र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; हाँगाहरूलाई सेतै पारिदिएको छ।
8 आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
9 याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू शोक गरिरहेका छन्।
10 खेतहरू ध्वस्त पारिएका छन्, र जमिन सुक्खा भएको छ; अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकेको छ; अनि जैतुनको तेल समाप्त भएको छ।
11 हे किसानहरू हो, निराश होओ। दाखबारीका किसानहरू, विलौना गर; गहुँ र जौको निम्ति शोक गर; किनकि खेतबारीको फसल नष्ट भएको छ।
12 दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्चय नै मानिसको आनन्दको अन्त्य भएको छ।
13 हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
14 पवित्र उपवासको घोषणा गर; पवित्र सभाको घोषणा गर। अगुवाहरूलाई बोलाओ र यस देशमा बस्नेहरू सबैलाई तिमीहरूका परमेश्वर याहवेहको भवनमा ल्याओ, र याहवेहलाई पुकार।
15 हाय! त्यो दिन, किनकि याहवेहको दिन नजिक छ; त्यो दिन सर्वशक्तिमान् परमेश्वरबाट विनाशझैँ आउनेछ।
16 के हाम्रा आँखाकै सामु खानाहरू नष्ट गरिएको छैन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
17 माटोका डल्लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्न सुकेको छ।
18 कष्टले पशुप्राणीहरू कराउँदैछन्! गाईबस्तुका बथानहरू विचलित भएका छन्; किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; भेडाहरूका बगालले समेत कष्ट भोगिरहेका छन्।
19 हे याहवेह, म तपाईंलाई पुकार्छु; किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ, र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।
20 जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।