< इयोब 5 >
1 “यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र? तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?
2 रिसले मूर्खलाई मार्छ, र डाहले सोझा मानिसलाई मार्छ।
3 म आफैँले मूर्खले जरा गाडेको देखेको छु, तर अचानक त्यसको घर श्रापित भयो।
4 त्यसका छोराछोरीहरू असुरक्षित छन्; अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।
5 त्यसको अन्नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्, काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्; र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ।
6 किनकि कठिनाइ माटोबाट उम्रँदैन, न त विपत्ति भुइँबाट पलाउँछ।
7 तरै पनि आगोको झिल्का माथि उडेझैँ मानिस विपत्तिकै निम्ति जन्मन्छ।
8 “तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्वरलाई बिन्ती चढाउनेथिएँ; मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।
9 परमेश्वरले हामीले बुझ्नै नसकिने अद्भुत कार्यहरू, र गन्नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,
10 उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ; उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ।
11 उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ, र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
12 उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ, ताकि तिनीहरूका हातले सफलता नपाऊन्।
13 उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ; र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ।
14 तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछन्; मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।
15 उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ; उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ।
16 त्यसकारण गरिबको निम्ति आशा छ; र अन्यायले आफ्नो मुख बन्द गर्छ।
17 “धन्यको हो त्यो मानिस, जसलाई परमेश्वरले सुधार गर्नुहुन्छ; यसकारण सर्वशक्तिमान् परमेश्वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।
18 किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ; उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।
19 उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ; सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन।
20 उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट, र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ।
21 तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ, र विनाश आउँदा पनि डराउनुपर्नेछैन।
22 तपाईं विनाश र अनिकालमा हास्नुहुनेछैन; र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।
23 किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ; र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।
24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ; तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैनौ, र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैनौ।
25 तपाईंका छोराछोरी धेरै हुनेछन्, र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।
26 ठिक ऋतुमा बाली बटुलेझैँ, तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।
27 “हामीले यी कुरा जाँचेका छौ, र यो सत्य हो। यसैले यो कुरा सुन्नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”