< इयोब 42 >

1 तब इयोबले याहवेहलाई जवाफ दिए: 2 “म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ; तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन। 3 तपाईंले मलाई सोध्नुभयो, ‘त्यो को हो, जसले ज्ञानविना मेरो योजनालाई अस्पष्‍ट पार्दछ?’ साँच्‍चै मैले नबुझेका कुराहरू बोलेँ, मैले जान्‍नै नसकेका अचम्मका कुराहरू बोलेँ। 4 “तपाईंले मलाई भन्‍नुभयो, ‘अब सुन्, र तँसँग म बोल्नेछु; म तँलाई सोध्नेछु, र तैँले मलाई जवाफ दिनेछस्।’ 5 तपाईंको बारेमा मेरा कानले सुनेको मात्र थिएँ, तर अहिले तपाईंलाई मेरा आँखाहरूले देखेका छन्। 6 यसैकारण म आफूलाई तुच्छ ठान्दछु, अनि म धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्दछु।” 7 याहवेहले यी सबै कुराहरू इयोबलाई भन्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “मेरा सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु। 8 यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरा सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरा सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।” 9 यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्‍नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो। 10 इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो। 11 त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनलाई पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए। 12 याहवेहले इयोबको जीवनको पछिल्‍लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए। 13 तिनका सात छोरा र तीन छोरी पनि भए। 14 तिनले जेठी छोरीको नाम यामीमा, माहिलीको कसीआ र कान्छीको केरेन हप्पूक राखे। 15 सम्पूर्ण देशभरि इयोबका छोरीहरूजस्ता सुन्दर स्त्रीहरू अरू कोही पनि थिएनन्; अनि तिनीहरूका पिता इयोबले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूसरह पैतृक सम्पत्ति दिए। 16 त्यसपछि इयोब एक सय चालीस वर्ष बाँचे; तिनले आफ्ना छोराछोरी र तिनीहरूका छोराछोरीहरू गरी चार पुस्तासम्म देखे। 17 यसरी इयोब वृद्ध र पूरा वर्ष खाएर मरे।

< इयोब 42 >