< इयोब 35 >

1 तब एलिहूले भने: 2 “के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ? तपाईं भन्‍नुहुन्छ, ‘म ठिक छु, तर परमेश्‍वर ठिक हुनुहुन्‍न।’ 3 अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र, अनि मैले पाप नगरेर के लाभ भयो र?’ 4 “म तपाईंलाई र तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु। 5 आकाशतिर दृष्‍टि लगाएर हेर्नुहोस्; तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्। 6 यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र? यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र? 7 यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ, अर्थात् उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र? 8 तपाईंको दुष्‍टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ, र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ। 9 “मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्; तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्। 10 तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ; जसले अन्धकारमा गीतहरू दिनुहुन्छ, 11 जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ, र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’ 12 दुष्‍ट मानिसहरूको घमण्डको कारण उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्‍न। 13 वास्तवमा परमेश्‍वरले तिनीहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न; सर्वशक्तिमान्‌ले त्यसलाई ध्यानै दिनुहुन्‍न। 14 त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्‍नुहुन्छ, उहाँले झन् कति थोरै सुन्‍नुहोला; जबकि तपाईंको मुद्दा उहाँको सामु छ; र तपाईंले उहाँलाई पर्खनैपर्छ, 15 अनि अझ बढी, जब तपाईंले भन्‍नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन, र उहाँले दुष्‍टतामा पटक्‍कै ध्यान दिनुहुन्‍न। 16 यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ; ज्ञानविना उनले धेरै शब्द बोल्छन्।”

< इयोब 35 >