< इयोब 21 >
1 तब इयोबले जवाफ दिए:
2 “मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्; र यही नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्।
3 म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्, र मैले बोलिसकेपछि मेरो गिल्ला गर्दैरहनुहोस्।
4 “के मेरो गुनासो मानिसहरूसँगको हो र? म किन अधैर्य नहुनु?
5 मलाई हेर्नुहोस् र अचम्म मान्नुहोस्; छक्क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्।
6 जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; मेरो शरीर डरले काँप्छ।
7 दुष्ट मानिसहरू किन दीर्घायु हुन्छन्, तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्?
8 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्।
9 तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; परमेश्वरको छडी तिनीहरूमाथि पर्दैन।
10 तिनीहरूका साँढेहरू प्रजनन्मा कहिल्यै असफल हुँदैनन्; तिनीहरूका गाईहरू बियाउँछन्, र तुहिँदैनन्।
11 तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्; तिनीहरूका स-साना केटाकेटीहरू नाच्दै उफ्रन्छन्।
12 तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्।
13 तिनीहरूले आफ्ना वर्षहरू सम्पन्नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्। (Sheol )
14 तापनि तिनीहरूले परमेश्वरलाई यसो भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई तपाईंका मार्गहरू जान्ने इच्छा छैन।
15 सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ? उहाँलाई प्रार्थना गरेर हामीलाई के नै लाभ हुन्छ र?”
16 तर तिनीहरूको उन्नति तिनीहरूको आफ्नो हातमा छैन, यसकारण म दुष्ट मानिसहरूको सल्लाहबाट धेरै टाढा रहन्छु।
17 “तरै पनि दुष्ट मानिसको बत्ती कति पल्ट निभ्छ र? तिनीहरूमाथि कति पल्ट विपत्ति आउँछ र, परमेश्वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र?
18 तिनीहरू कति पल्ट बतासको अगाडिको परालजस्तै, र आँधीले उडाएको भुसजस्तै भएका छन् र?
19 यसो भनिएको छ, ‘परमेश्वरले दुष्ट मानिसहरूको दण्ड त्यसका छोराछोरीहरूका निम्ति साँचेर राख्नुहुन्छ।’ उहाँले त्यस दुष्टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्!
20 तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; तिनीहरूले सर्वशक्तिमान्को क्रोधको कचौरा पिऊन्।
21 जब तिनीहरूका तोकिएका महिनाहरू समाप्त हुन्छन्, तिनीहरूले आफूले छोडेर जाने परिवारको निम्ति के वास्ता गर्छन् र?
22 “यदि परमेश्वरले सर्वोच्चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ?
23 कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, पूर्ण रूपले सुरक्षित र सुखमा,
24 हृष्टपुष्ट शरीरमा, हड्डी मासीले भरिएको अवस्थामा मर्छ।
25 तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, आफ्नो प्राणको तितोपनामा मर्छ;
26 ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्, र ती दुवैलाई किराहरूले ढाक्दछन्।
27 “तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, मलाई हानि पुर्याउने तपाईंहरूको दुष्ट योजना मलाई थाहा छ।
28 तपाईंहरूले भन्नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ, त्यो पाल जहाँ दुष्ट मानिस बस्दछ?’
29 के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन—
30 कि दुष्ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?
31 कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र?
32 तिनीहरूलाई चिहानमा लगिन्छ, र तिनीहरूको चिहानमाथि पहरा लगाइन्छ।
33 बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; प्रत्येक मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र असंख्य भीड तिनीहरूको अगि लाग्छन्।
34 “यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!”