< इयोब 18 >

1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए: 2 “तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ? संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौँ। 3 हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ? 4 तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ; के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने? अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने? 5 “दुष्‍ट मानिसको बत्ती निभाइन्छ; त्यसको आगोको ज्वाला बल्न छोड्छ। 6 त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ; त्यसको छेउमा भएको बत्ती निभेर जान्छ। 7 त्यसको बलियो पाइला कमजोर हुन्छ; त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्। 8 त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ; त्यो त्यसको फन्दामा भौँतारिन्छ। 9 धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ; पासोले त्यसलाई जोडसित समातेर राख्छ। 10 त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ; त्यसका बाटोमा एउटा धराप थापिएको छ। 11 त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, र त्यसको हरेक पाइलालाई खेद्‌दछ। 12 विपत्ति त्यसको निम्ति भोकाएको छ; जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ। 13 रोगले त्यसका छालाका भागहरू खाइदिन्छ; मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ। 14 त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; र आतङ्कहरूको राजाकहाँ लगिन्छ। 15 त्यसको पालमा आगोले बास गर्छ, त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ। 16 तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्, र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्। 17 त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ; देशमा त्यसको नामनिशानै रहनेछैन। 18 त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ र त्यसलाई संसारबाटै निकालिनेछ। 19 त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्; एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्। 20 त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्; र पूर्वका मानिसहरू त्रसित हुनेछन्। 21 साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ; परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”

< इयोब 18 >