< इयोब 14 >
1 “स्त्रीको कोखबाट जन्मेका मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।
2 तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्।
3 के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्टि राख्नुहुन्छ? के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ?
4 अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? कसैले पनि सक्दैन!
5 हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।
6 यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।
7 “किनकि रूखको समेत पनि आशा हुन्छ: त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन।
8 त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि
9 पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ।
10 तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?
11 तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,
12 त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।
13 “यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो! (Sheol )
14 कोही मरेपछि फेरि जीवित हुन्छ र? मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।
15 तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ।
16 तब निश्चय नै तपाईंले मेरा पाइलाहरू गन्नु हुनेछ, तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन।
17 मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।
18 “तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ,
19 पानीले ढुङ्गाहरू खियाएर लगेझैँ, र भलबाढीले माटो बगाएर लगेझैँ, त्यसरी नै तपाईंले मानिसको आशा नष्ट पारिदिनुहुन्छ।
20 तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, र तिनीहरू समाप्त भएर जान्छन्; तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।
21 तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्; यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्।
22 तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, र आफ्नै लागि मात्र विलाप गर्छन्।”