< इयोब 10 >
1 “म यो जीवनदेखि विरक्तिएको छु; यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु; र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।
2 म परमेश्वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस् तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्नुहोस्।
3 मलाई सताएर, आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र? जबकि तपाईं दुष्टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?
4 के तपाईंका आँखाहरू मानिसका जस्ता छन्? के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?
5 के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र? अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?
6 तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ, र मेरा पापहरू खोतल्नुहुन्छ?
7 यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्नुहुन्छ, र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।
8 “तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो। के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?
9 सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो; के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?
10 के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको, अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?
11 तपाईंले मलाई छाला र मासु पहिराउनुभई, अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको होइन र?
12 तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ; र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।
13 “तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो; र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:
14 यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो; र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।
15 यदि म दोषी छु भने मलाई धिक्कार होस्! म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ; किनकि म शर्ममा परेको छु, अनि आफ्नो दुःखमा डुबेको छु।
16 यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ; र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।
17 तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ, र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ; तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।
18 “मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो? कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।
19 यदि म अस्तित्वमै नआएको भए हुनेथियो, अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!
20 के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र? मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।
21 मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि; जहाँ अन्धकार र घोर अन्धकार छ।
22 घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्, जहाँ अन्धकार र अस्तव्यस्त छ, जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।”