< यर्मिया 49 >

1 अम्मोनीहरूको विषयमा: याहवेह यसो भन्‍नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसका उत्तराधिकारीहरू छैनन्? त्यसो भए किन मोलेखले गादमाथि अधिकार जमाएको छ? उहाँका मानिसहरू किन त्यसका सहरहरूमा बस्छन्? 2 तर दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म अम्मोनीहरूका रब्बाको विरुद्धमा युद्धको ध्वनि सुनाउनेछु; अनि त्यो एउटा भग्नावशेषको थुप्रो हुनेछ, र त्यसका चारैतिरका गाउँहरूमा आगो लगाइनेछ। तब जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले धपाउनेछ,” याहवेह भन्‍नुहुन्छ। 3 “हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ! हे रब्बाका छोरीहरू हो, चर्कोगरी रोओ! भाङ्ग्रा लगाएर शोक गर; पर्खालभित्र यताउता दगुर; किनकि मोलेख आफ्ना पुजारीहरू र अधिकारीहरूसँग कैदमा जानेछ। 4 तँ किन आफ्ना उपत्यकाहरूमा घमण्ड गर्छस्? तँ आफ्ना फलदायक उपत्यकाका निम्ति किन घमण्ड गर्छस्? हे विश्‍वासीघाती आमोनका छोरी, तँ आफ्ना धनसम्पत्तिमा भरोसा राख्छेस् र भन्छेस्, ‘हामीलाई कसले आक्रमण गर्ला?’ 5 म तेरा चारैतिरबाट तँमाथि आतङ्क ल्याउनेछु,” प्रभु सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ; अनि भागेर जानेहरूलाई कसैले पनि भेला गर्नेछैन। 6 “अनि त्यसपछि म अम्मोनीहरूको सुख-शान्ति फर्काइदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 7 एदोमको विषयमा: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “के अब तेमानमा बुद्धि छैन? के बुद्धिमान्‌हरूबाट परामर्श नष्‍ट भएर गएको छ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएकै हो? 8 हे ददानमा बस्‍नेहरू हो, भाग, फर्केर जाओ! र गहिरा ओडारहरूमा गएर लुक; किनकि एसावलाई दण्ड दिने समयमा म एसावमाथि विपत्ति ल्याउनेछु। 9 यदि तँकहाँ अङ्‌गुर टिप्नेहरू आए भने, के तिनीहरूले केही अङ्‌गुरहरू छोड्दैनन् र? यदि रातको समयमा चोरहरू आए भने, के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र? 10 तर म एसावलाई पूर्ण रूपमा नाङ्गो बनाइदिनेछु; म त्यसका लुक्ने ठाउँहरू उदाङ्गो पारिदिनेछु, ताकि त्यसले आफूलाई लुकाउन नसकोस्। त्यसका हतियारधारीहरू र त्यसका छोराछोरी, आफन्तहरू र छिमेकीहरू नष्‍ट हुनेछन्; यसकारण यसो भन्‍ने मान्छे कोही पनि हुनेछैन, 11 ‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरूले पनि ममाथि भरोसा राखून्।’” 12 याहवेह यसो भन्‍नुहुन्छ: “यदि कोही कचौराबाट पिउन योग्यको नभए तापनि त्यसले पिउनैपर्छ भने, के तँ दण्ड नपाई उम्कनेछस् र? दण्डबाट तँ उम्कनेछैनस्, तर तैँले दण्डको कचौराबाट पिउनैपर्छ। 13 म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।” 14 मैले याहवेहबाट एउटा सन्देश सुनेको छु; राष्ट्रहरूलाई यसो भन्‍ने एक जना दूत पठाइयो, “आफ्ना सेनाहरू युद्धको निम्ति भेला गर! एदोमसँग लडाइँ गर्नका निम्ति तयार होओ! 15 “हेर्, अब म तँलाई राष्ट्रहरूमध्ये सबैभन्दा सानो तुल्याउनेछु; तँ मानव-जातिहरू बीच घृणित हुनेछस्। 16 तेरो डरलाग्दो व्यवहार र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ; हे चट्टानका दरारहरूमा बस्‍ने, हे डाँडाका अग्ला-अग्ला ठाउँहरू ओगट्ने, तैँले चीलको गुँड झैँ अग्लो ठाउँमा बास बनाए तापनि म तँलाई त्यहाँबाट तल झारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 17 “एदोम त्रासको पात्र हुनेछ; त्यसका सबै घाउहरूका कारण त्यसका छेउबाट भएर जाने हरेक तर्सनेछ, र त्यसलाई खिसी गर्नेछ। 18 जसरी सदोम र गमोरा तिनीहरूका छेउछाउका सहरहरूसहित नष्‍ट भएका थिए,” याहवेह भन्‍नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कोही पनि बसोबास गर्नेछैन। 19 “हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ, म निस्कनेछु; र म एदोमलाई झट्टै त्यसकै देशबाट खेद्नेछु। यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? मलाई कसले चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?” 20 यसकारण एदोमको विरुद्धमा याहवेहको योजना, र तेमानमा बस्‍नेहरूको विरुद्धमा उहाँको उद्देश्य के छ, त्यो कुरा सुन: बगालका कलिला पाठाहरूलाई घिसारेर लगिनेछ; तिनीहरूको खर्क पूर्ण रूपमा उजाड हुनेछ। 21 तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार लाल समुद्रसम्म गुञ्जिनेछ। 22 हेर! एउटा चील आफ्ना पखेटा फैलाउँदै वेगसित बोज्रामाथि झम्टेर आउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ। 23 दमस्कसको विषयमा: “हमात र अर्पाद हतोत्साहित भएका छन्; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू निराश भएका छन्, अशान्त समुद्रजस्तै विचलित भएका छन्। 24 दमस्कसका मानिसहरू कमजोर भएका छन्; तिनीहरू भाग्नलाई पछि फर्केका छन्, र तिनीहरूलाई त्रासले समातेको छ; कष्‍ट र वेदनाले तिनीहरूलाई पक्रेको छ, प्रसव-वेदनामा परेकी स्त्रीको जस्तै पीडाले पक्रेको छ। 25 त्यो प्रसिद्ध सहर कसरी त्यागिएको छैन; त्यो सहर जसमा म प्रसन्‍न हुन्छु? 26 निश्‍चय नै तिनीहरूका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। 27 “म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु; त्यो आगोले बेन-हददको किल्‍लालाई भस्म पारिदिनेछ।” 28 बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूको बारेमा: याहवेह यसो भन्‍नुहुन्छ: “उठ र केदारलाई आक्रमण गर, र पूर्वका मानिसहरूलाई नाश गर। 29 तिनीहरूका पालहरू र तिनीहरूका बगालहरू लगिनेछन्; तिनीहरूका ओत लाग्ने छाप्राहरू, तिनीहरूका सबै मालसामानहरू र ऊँटहरूसमेत लगिनेछन्। मानिसहरूले तिनीहरूलाई भन्‍नेछन्, ‘चारैतिर त्रासै-त्रास छ!’ 30 “छिटो टाढा भाग! हे हासोरमा बस्‍नेहरू हो, तिमीहरू गहिरा ओडारहरूमा बस,” याहवेह घोषणा गर्नुहुन्छ। बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा षड्यन्त्र रचेको छ; त्यसले तिमीहरूको विरुद्धमा एउटा योजना बनाएको छ। 31 “उठ र शान्तिमा रहेको राष्ट्रलाई आक्रमण गर, जो आरामसँग ढुक्‍क भएर बसेको छ,” याहवेह घोषणा गर्नुहुन्छ। “एउटा राष्ट्र, जसका न मूलढोकाहरू, न त गजबारहरू नै छन्; त्यस राष्ट्रका मानिसहरू खतराबाट टाढा बस्छन्। 32 तिनीहरूका ऊँटहरू लुटका माल हुनेछन्; अनि तिनीहरूका ठूला-ठूला बथानहरू लुटिएका माल हुनेछन्। म टाढा ठाउँमा रहेकाहरूलाई बतासमा छरपस्ट पारिदिनेछु र म तिनीहरूमाथि चारैतिरबाट विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 33 “हासोर सहर स्यालको वासस्थान हुनेछ; सदाको निम्ति उजाडस्थान बन्‍नेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कुनै पनि मानिस बसोबास गर्नेछैन।” 34 यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका समयमा एलामको बारेमा अगमवक्ता यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: 35 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म एलामको धनु, तिनीहरूको शक्तिको मुख्य आधार भाँचिदिनेछु। 36 म एलामको विरुद्धमा आकाशका चारै दिशाबाट चार वटा बतासहरू ल्याउनेछु; म तिनीहरूलाई चार वटा बतासहरूमा छरपस्ट पार्नेछु; अनि एलामबाट निर्वासनमा नगएको कुनै राष्ट्र हुनेछैन। 37 म एलामलाई तिनीहरूका शत्रुहरूको सामु चकनाचुर पार्नेछु; तिनीहरूको शत्रुहरूको सामु, जसले तिनीहरूलाई मार्न चाहन्छन्; म मेरो भयानक क्रोधमा, तिनीहरूमाथि विनाश ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई पूर्ण रूपले नष्‍ट नपारुन्जेल, तिनीहरूलाई तरवार लिएर खेद्नेछु। 38 म एलाममा आफ्नो सिंहासन खडा गर्नेछु; अनि त्यसका राजा र अधिकारीहरूलाई नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 39 “तापनि आउँदा दिनहरूमा म एलामको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

< यर्मिया 49 >