< यर्मिया 17 >

1 “यहूदाका पापहरू फलामका हतियारले खोपिएका छन्; चकमके ढुङ्गाको टुप्पोले तिनीहरूका हृदयका पाटीमा र तिनीहरूका वेदीहरूका सिङहरूमा खोपिएका छन्। 2 तिनीहरूका छोराछोरीहरूले पनि झाँगिएका रूखहरू र अग्ला डाँडाहरूका छेउमा भएका अशेराका खम्बाहरू र वेदीहरूको सम्झना गर्छन्। 3 देशभरि नै तिमीहरूले गरेका आफ्ना पापको कारण म यस देशमा भएको मेरो पर्वत, तिमीहरूका धनसम्पत्ति र तिमीहरूका सबै भण्डारहरू साथै तिमीहरूका अग्ला ठाउँहरूसमेत सबै लुटको मालझैँ म लान दिनेछु। 4 तिमीहरूका आफ्नै गल्तीको कारण मैले तिमीहरूलाई दिएको अधिकार गुमाउनेछौ। तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु; किनकि तिमीहरूले मेरो रिसलाई दन्काएका छौ; अनि यो सधैँभरि जलिरहनेछ।” 5 याहवेह यसो भन्‍नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ, जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ; अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ। 6 त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्‍ने नुनिलो भूमिमा बसोबास गर्नेछन्। 7 “धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ, जसको भरोसा उहाँमाथि हुन्छ। 8 तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्, जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्। गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन; त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन, र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।” 9 मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र? 10 “म याहवेहले हृदयको खोजी गर्छु, र मनको जाँच गर्छु, मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।” 11 बेइमानीसाथ धन कमाउने मानिस आफूले नपारेको अण्डामा ओथ्रा बसेर चल्‍ला काढ्ने तित्रा चराजस्तै हुन्छ। जब तिनीहरूको आधा उमेर बितेर जान्छ, तब तिनीहरूको धनसम्पत्तिले तिनीहरूको साथ छोड्नेछ; अनि अन्त्यमा तिनीहरू मूर्ख ठहरिनेछन्। 12 सुरुदेखिकै उच्‍च पारिएको तपाईंको महिमित सिंहासन, हाम्रो पवित्रस्थानको ठाउँ हो। 13 हे याहवेह, इस्राएलका आशा तपाईं नै हुनुहुन्छ; तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन्। तपाईंबाट तर्किएर जानेहरूको नाम धुलोमा लेखिनेछन्; किनकि तिनीहरूले याहवेह, जीवित पानीका मूललाई त्यागेका छन्। 14 मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बाँच्नेछु; किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु। 15 हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्, “याहवेहको वचन कहाँ छ? तपाईंको वचन अहिले नै पूरा भइजाओस्!” 16 म तपाईंको सेवामा गोठालो हुनदेखि भागेर गएको छैन; तपाईंलाई थाहा छ, मैले निराशको दिन चाहेको छैन। मेरा ओठबाट निस्केका सबै कुरा तपाईंकै सामु छन्। 17 तपाईं मेरो त्रासको कारण नबन्‍नुहोस्; मेरो विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। 18 मलाई सताउनेहरू शर्ममा परून्, तर मलाईचाहिँ शर्ममा पर्नबाट जोगाउनुहोस्; तिनीहरू त्रसित होऊन्, तर मलाई त्रासबाट जोगाउनुहोस्। तिनीहरूमाथि विपत्तिको दिन ल्याइदिनुहोस्; तिनीहरूलाई दोबर विपत्तिले सर्वनाश गर्नुहोस्। 19 याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, र यहूदाका राजाहरू भित्र र बाहिर गर्ने सेनाहरूको मूलढोकामा उभी; यरूशलेमका अरू सबै मूलढोकाहरूमा पनि उभी। 20 तिनीहरूलाई भन्, ‘हे यहूदाका राजाहरू र यहूदाका सबै मानिसहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै बासिन्दाहरू हो, याहवेहको वचन सुन। 21 याहवेह यसो भन्‍नुहुन्छ: शब्बाथ दिनमा कुनै भारी नबोक अथवा भारी बोकेर यरूशलेमका मूलढोकाहरू भित्र नल्याओ, यो कुरा होसियारीसाथ पालन गर। 22 शब्बाथ दिनमा कुनै भारी तिमीहरूका घरबाट बाहिर ननिकाल अथवा शब्बाथ दिनमा कुनै काम नगर; अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेझैँ शब्बाथ दिनलाई पवित्र राख। 23 तर तिनीहरूले यो कुरा सुनेनन् अथवा ध्यानै दिएनन्; तिनीहरू हठी थिए र तिनीहरूले न सुन्‍न चाहे न त अनुशासनमा नै ध्यान दिए। 24 याहवेह भन्‍नुहुन्छ, तर यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने, र शब्बाथ दिनमा यस सहरका मूलढोकाहरूबाट कुनै भारी ल्याएनौ र कुनै काम नगरी शब्बाथ दिनलाई पवित्र मान्यौ भने, 25 तब दावीदका सिंहासनमा बस्‍ने राजाहरू, यस सहरका मूलढोकाहरूबाट तिनीहरूका अधिकारीहरूसँग आउनेछन्। राजाहरू र तिनीहरूका अधिकारीहरू घोडाहरू र रथहरूमा सवार भएर यहूदा र यरूशलेमका मानिसहरूसहित आउनेछन्; अनि तिनीहरू यो यरूशलेम सहरमा सधैँका निम्ति बसोबास गर्नेछन्। 26 मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्‍चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्‍नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्। 27 तर यदि तिमीहरू शब्बाथ दिनमा यरूशलेमका मूलढोकाहरूभित्र आउँदा, भारी बोक्यौ र शब्बाथ दिनलाई पवित्र राख्ने मेरो आज्ञापालन गरेनौ भने म यरूशलेमका मूलढोकाहरूमा निभाउन नसकिने आगो सल्काइदिनेछु, त्यस आगोले त्यसका किल्‍लाहरू भस्म पारिदिनेछ।’”

< यर्मिया 17 >