< यशैया 49 >
1 हे टापुहरू हो, मेरो कुरा सुन; हे टाढाका जातिहरू हो, यो सुन; म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो; म आमाको गर्भमा हुँदादेखि नै उहाँले मलाई नाम दिनुभयो।
2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो; उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो; उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो, र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।
3 उहाँले मलाई भन्नुभयो, “तँ मेरो सेवक इस्राएल होस्, जसमा म आफ्नो महिमा प्रकट गर्छु।”
4 तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु; मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु। तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ; अनि मेरो पुरस्कार मेरा परमेश्वरसित छ।”
5 यसैले अब याहवेह भन्नुहुन्छ— उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, र इस्राएललाई आफूकहाँ भेला गराउन, मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; किनकि म याहवेहको दृष्टिमा सम्मानित भएको छु, र मेरा परमेश्वर नै मेरो बल हुनुभएको छ।
6 उहाँ भन्नुहुन्छ: “याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो। मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।”
7 जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे— उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्वर— त्यो शासकहरूका सेवकलाई, याहवेह पवित्र परमेश्वर भन्नुहुन्छ: “राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्; अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्; किनभने विश्वासयोग्य याहवेह, इस्राएलका पवित्र परमेश्वरले तँलाई चुन्नुभएको छ।”
8 याहवेह यसो भन्नुहुन्छ: “मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिन म तँलाई सहायता गर्नेछु; म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु; मानिसहरूका निम्ति एउटा करार बनाउन, देशलाई पुनर्स्थापन गर्न, र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
9 कैदीहरूलाई ‘बाहिर आओ’ र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्न। “तिनीहरू बाटोका किनारमा खानेछन् र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्।
10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्, न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ। तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्याउनुहुनेछ।
11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु, र मेरा राजमार्गहरू उच्च पारिनेछन्।
12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्— कोही उत्तरबाट, कोही पश्चिमबाट, र कोही सीनीम देशबाट आउनेछन्।”
13 हे आकाश, आनन्दले करा; हे पृथ्वी, हर्ष मना; हे पर्वतहरू हो, चर्को सोरले गा! किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ; अनि कष्ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ।
14 तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ, प्रभुले मलाई भुल्नुभएको छ।”
15 “के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे, र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र? त्यसले भुल्न पनि सक्छे, तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।
17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्, र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।
18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्; तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्। म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ, “तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्; अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्।
19 “यद्यपि तँ नष्ट र उजाड पारिएको थिइस् र तेरो देश रुखो पारिएको थियो; अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्, र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्।
20 तेरो शोकको समयमा जन्मेका बालबच्चाहरूले तैँले सुन्ने गरी ‘यो ठाउँ हामीलाई साह्रै सानो भयो; हामीलाई अझ धेरै बस्ने ठाउँ देओ’ भन्नेछन्।
21 तब तैँले आफ्ना हृदयमा भन्नेछस्, ‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए? म त शोकित र बाँझी थिएँ; म देशबाट निकालिएकी र त्यागिएकी थिएँ। यिनीहरूलाई कसले हुर्काए? म एकलै छोडिएकी थिएँ, तर यिनीहरू कहाँबाट आए?’”
22 प्रभु याहवेह यसो भन्नुहुन्छ: “हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु; म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु; तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्, र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्।
23 राजाहरू तेरा स्याहार गर्ने बुबा र रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्याएर दण्डवत् गर्नेछन्; तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्। तब तैँले म नै याहवेह हुँ, भनी जान्नेछस्; ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।”
24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ, अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ?
25 तर याहवेह यसो भन्नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्, र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ; तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु; अनि तेरा बालबच्चाहरूलाई म बचाउनेछु।
26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु; मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्। तब सबै मानव जातिले जान्नेछन्, कि म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने, याकोबको सर्वशक्तिमान् परमेश्वर हुँ।”