< यशैया 33 >

1 धिक्‍कार तँ नाशकर्तालाई, जो नष्‍ट पारिएको छैनस्! धिक्‍कार तँ विश्‍वासघातीलाई, जसले धोका पाएको छैनस्! जब तैँले नष्‍ट गर्न छोड्छस्, तब तँ नष्‍ट पारिनेछस्; जब तैँले विश्‍वासघात गर्न छोड्छस्, तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्। 2 हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्। 3 तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्। 4 हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ; मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्। 5 याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्‍च स्थानमा विराजमान हुनुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ। 6 उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो। 7 हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्; शान्तिका दूतहरू धुरुधुरु रुन्छन्। 8 राजमार्गहरू त्यागिएका छन्; बाटोमा कुनै यात्री छैन। सन्धि तोडिएको छ; त्यसका गवाहीहरूलाई घृणा गरिन्छ; कसैको आदर छैन। 9 देशले विलाप गर्छ र चिन्तामा छ; लेबनान लज्जित भएर ओइलाउँछ; शारोन अराबाझैँ छ, बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्। 10 “अब म उठ्नेछु” याहवेह भन्‍नुहुन्छ। “अब म उच्‍च पारिनेछु; अब म उचालिनेछु। 11 तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराल जन्माउँछौ; तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो। 12 मानिसहरू चून जलेझैँ जल्नेछन्; काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।” 13 हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन! तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर! 14 सियोनमा भएका पापीहरू आतङ्कित छन्; भक्तिहीनलाई कम्पनले समातेको छ; “हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्‍न सक्ला? हामीमध्ये को अनन्तको जलनसित बस्‍न सक्ला?” 15 त्यही मानिस, जो धार्मिकतामा चल्छ, र जे ठिक छ, त्यही बोल्छ; जसले लुटको लाभलाई इन्कार गर्छ, र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ, जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ, र आफ्ना आँखा दुष्‍टता हेर्नबाट बन्द गर्छ; 16 यस्तो मानिस उच्‍च स्थानहरूमा वास गर्नेछ, जसको शरणस्थान पहाडको किल्‍ला हुनेछ। त्यसलाई रोटी जुटाइनेछ, र त्यसलाई पानीको अभाव हुनेछैन। 17 तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ, र टाढासम्म फैलिएको देशलाई देख्नेछ। 18 तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्: “त्यो प्रमुख अधिकृत कहाँ छ? कर असुल गर्ने खोइ? धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?” 19 तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्; ती अस्पष्‍ट बोली भएका मानिसहरूलाई, जसको बोली बुझिँदैन। 20 हाम्रा चाडहरूको सहर, सियोनलाई हेर; तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ; एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन; त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्; न त त्यसका कुनै डोरी चुँडाइनेछ। 21 त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्‍वर हुनुहुनेछ। त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ। पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन; कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन। 22 किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; याहवेह हाम्रा राजा हुनुहुन्छ; हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ। 23 तेरा डोरीहरू खुकुला भएका छन्: मस्तुल सुरक्षित राखिएको छैन, पाल फिँजिएको छैन। तब लुटका प्रशस्त माल बाँडिनेछ, र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्। 24 सियोनमा बस्‍ने कसैले पनि, “म बिरामी छु” भन्‍नेछैन; अनि त्यहाँ बस्‍नेहरू सबैका पाप क्षमा गरिनेछन्।

< यशैया 33 >