< यशैया 32 >

1 हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ; अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्। 2 हरेक मानिस बतासबाट जोगिने आश्रय र आँधीबाट जोगिने शरणस्थानझैँ, मरुभूमिमा पानीको खोलाझैँ, र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ। 3 तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन; अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्। 4 अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ; अनि भकभकाउने जिब्रोले स्पष्‍ट र सफासँग बोल्नेछ। 5 मूर्खलाई फेरि भद्र भनिनेछैन, न त बदमासलाई उच्‍च आदर दिइनेछ। 6 किनकि मूर्खले अज्ञानताको कुरा गर्छ, त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ; त्यसले भक्तिहीनताका कामहरू गर्छ; अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ; भोकोलाई त्यसले भोकै छोड्छ, र तिर्खाएकोलाई त्यसले पानी दिँदैन। 7 बदमासका काम गर्ने तरिकाहरू दुष्‍ट हुन्छन्, र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि गरिबहरूलाई झूटले नाश गर्नलाई त्यसले दुष्‍ट योजनाहरू बनाउँछ। 8 तर भलादमीले भलो युक्ति रच्दछ; अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ। 9 हे ढुक्‍कसित बस्‍ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन; आफूलाई सुरक्षित ठान्‍ने छोरीहरू हो, मैले भन्‍नुपर्ने कुरा सुन! 10 एक वर्षभन्दा केही बढी समयमा तिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ; अङ्‌गुरको फसलै हुनेछैन, र फलको कटनी हुनेछैन। 11 हे ढुक्‍क बस्‍ने स्त्रीहरू हो, थरथर होओ; आफूलाई सुरक्षित ठान्‍ने हे छोरीहरू हो, थरथर काम! आफ्ना राम्रा लुगा फुकाल, र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ। 12 असल खेतहरूका निम्ति, फलदायक दाखको निम्ति आफ्ना छाती पिट; 13 अनि मेरो जातिका देशको निम्ति, काँडा र सिउँडीले ढाकेको देशका निम्ति— हो, सबै आनन्द मनाउने घरहरूका निम्ति, र यो आनन्दको सहरको निम्ति बिलौना गर। 14 किल्‍ला त्यागिनेछ, हल्‍लाको सहर शून्य हुनेछ; किल्‍ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्; जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्; 15 जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन, र मरुभूमि मलिलो खेत हुँदैन, र मलिलो खेत जङ्गलझैँ देखिँदैन; 16 याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ। अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ। 17 धार्मिकताको फल शान्ति हुनेछ; अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ। 18 मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा, सुरक्षित घरहरूमा र शान्त विश्राम स्थलहरूमा बस्‍नेछन्। 19 असिनाले जङ्गललाई पूरै ढाके तापनि सहर पूर्ण रूपले समतल भए तापनि 20 तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै, अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्‍कै चर्नका निम्ति दिन पाउँदा तिमीहरू कति धन्यका हुनेछौ।

< यशैया 32 >