< 1 इतिहास 18 >

1 केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए। 2 दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे। 3 यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते। 4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए। 5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे। 6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो। 7 दावीदले हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए। 8 दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्‍न चीजहरू बनाउनमा प्रयोग गरे। 9 जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने, 10 तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए। 11 दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे। 12 सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे। 13 तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो। 14 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। 15 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए; अहीलूदका छोरा यहोशापात लेखापाल थिए; 16 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; शब्शा सचिव थिए; 17 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए; अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए।

< 1 इतिहास 18 >