< गन्ती 14 >
1 त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
2 इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
4 तिनीहरूले आपसमा भने, “अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।”
5 अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
6 त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
7 तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
8 यदि परपप्रभु हामीसँग प्रसन्न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
10 अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्यो ।
11 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?
12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्तिशाली हुनेछ ।”
13 मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्तिबाट छुटकारा दिनुभयो ।
14 तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।
15 यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्ने जातिहरू बोल्नेछन् र भन्नेछन्,
16 'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'
17 म बिन्ती गर्छु, कि तपाईंको महाशक्ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्नुभएको छ,
18 'परमप्रभु रिसाउनमा धिमा र विश्वनीयताको करारमा प्रशस्त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
19 म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्वसनीयताको महान्ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
20 परपप्रभुले भन्नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
21 तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
22 शक्तिका चिन्हहरू देख्ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
23 यसैले तिनीहरूले निश्चय नै त्यो भूमि देख्नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्नेछैन,
24 मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।
25 (त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”
26 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
27 “मेरो आलोचना गर्ने यो दुष्ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
28 तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
29 मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।
30 यपुन्नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
32 तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्नुपर्छ ।
34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
35 म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्ट समुदायमाथि म निश्चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”
36 यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
37 भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
38 भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे ।
39 जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।
40 तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”
41 तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ ।
42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्न ।
43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
44 तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
45 त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।