< विलाप 4 >
1 सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्ट छन् ।
2 सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।
3 स्यालका माउहरूले पनि आफ्ना बच्चाहरूलाई थुन चुस्न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे ।
4 दूध चुस्ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।
5 मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।
6 मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।
7 त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
8 अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।
9 तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।
10 दयालु स्त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्ट पारिँदा ती बालबच्चा तिनीहरूको खानेकुरा बने ।
11 परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्यो ।
12 शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्नेथिए भनी पृथ्वीका राजाहरूले विश्वास गरेनन्, न त संसारको कुनै बासिन्दाले विश्वास गर्यो ।
13 त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।
14 अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।
15 तिनीहरूलाई देखेर मानिसहरू चिच्च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्न सक्दैनन् ।”
16 परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।
17 सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्यौँ, जसले हामीलाई बचाउन सकेन ।
18 तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो ।
19 हामीले खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।
20 परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्ने छौँ ।”
21 हे ऊज देशमा बस्ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्नेछेस्, र नाङ्गो पारिने छेस् ।
22 हे सियोनकी छोरी, तेरो दण्ड समाप्त हुने छ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ ।