< योना 1 >
1 अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
2 “उठ् र त्यो ठुलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्टता अति धेरै भएको छ ।”
3 तर परमप्रभुको उपस्थितिबाट भाग्न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।
4 तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्ट हुन लाग्दैछ भन्ने थाहा भयो ।
5 तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्यो । जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले । तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्यहाँ मस्त निद्रामा सुतिरहेका थिए ।
6 यसैले जहाजका कप्तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ? उठ! आफ्नो देवतालाई पुकार! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्ट हुनेछैनौं ।”
7 तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौं, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्ने कुरा हामीले जान्नेछौं ।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्यो ।
8 तब तिनीहरूले योनालाई भने, “कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ । तिमी के काम गर्छौ, र तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो, र तिमी कुन मानिसबाट हौ?”
9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्वरको भय म मान्छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।”
10 त्यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्यसै भनेको थिए ।
11 तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।
12 योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्यसपछि तिमीहरूका निम्ति यो समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्दैछ भनी म जान्दछु ।”
13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।
14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्छा भयो, त्यही तपाईंले गर्नुभयो ।”
15 यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्यो ।
16 त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्यन्तै माने । तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे ।
17 यति बेला योनालाई निल्नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे ।