< अय्यूब 15 >

1 तब एलीपज तेमानीले जवाफ दिए र भने, 2 “के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू? 3 के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू? 4 वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ । 5 किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो । 6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ । 7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र? 8 तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र? 9 तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्? 10 कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् । 11 परमेश्‍वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्‍यादै तुच्‍छ छन् र? 12 तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्? 13 जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ? 14 मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो? 15 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न । वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन । 16 घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ। 17 म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्‍नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु, 18 बुद्धिमान् मानिसहरूले आफ्‍ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्‍नेछु । 19 यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन । 20 दुष्‍टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्‍ख्‍या तोकिएका छन् । 21 उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ । 22 अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ । 23 ऊ रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ, ‘खोई त्‍यो कहाँ छ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ । 24 निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन् । 25 परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ, 26 यो दुष्‍ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ । 27 आफ्‍नो अनुहार आफ्‍नो बोसोले ढाकेको, अनि आफ्‍नो कम्मरमा बोसो जाम्‍मा गरेको भए पनि, 28 र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए । 29 ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन । 30 उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ । 31 आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ । 32 उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन । 33 नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ । 34 किनकि ईश्‍वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ । 35 तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।

< अय्यूब 15 >