< उत्पत्ति 47 >

1 तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌ ।”
ויבא יוסף ויגד לפרעה ויאמר אבי ואחי וצאנם ובקרם וכל אשר להם באו מארץ כנען והנם בארץ גשן׃
2 तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए ।
ומקצה אחיו לקח חמשה אנשים ויצגם לפני פרעה׃
3 फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”
ויאמר פרעה אל אחיו מה מעשיכם ויאמרו אל פרעה רעה צאן עבדיך גם אנחנו גם אבותינו׃
4 त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”
ויאמרו אל פרעה לגור בארץ באנו כי אין מרעה לצאן אשר לעבדיך כי כבד הרעב בארץ כנען ועתה ישבו נא עבדיך בארץ גשן׃
5 त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।
ויאמר פרעה אל יוסף לאמר אביך ואחיך באו אליך׃
6 मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर । उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ ।”
ארץ מצרים לפניך הוא במיטב הארץ הושב את אביך ואת אחיך ישבו בארץ גשן ואם ידעת ויש בם אנשי חיל ושמתם שרי מקנה על אשר לי׃
7 तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
ויבא יוסף את יעקב אביו ויעמדהו לפני פרעה ויברך יעקב את פרעה׃
8 फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
ויאמר פרעה אל יעקב כמה ימי שני חייך׃
9 याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो । मेरो यस जीवनका वर्षहरू थोरै र दु: खमय भएका छन् । मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन ।”
ויאמר יעקב אל פרעה ימי שני מגורי שלשים ומאת שנה מעט ורעים היו ימי שני חיי ולא השיגו את ימי שני חיי אבתי בימי מגוריהם׃
10 त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्‍थितिबाट निस्‍केर गए ।
ויברך יעקב את פרעה ויצא מלפני פרעה׃
11 तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।
ויושב יוסף את אביו ואת אחיו ויתן להם אחזה בארץ מצרים במיטב הארץ בארץ רעמסס כאשר צוה פרעה׃
12 योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।
ויכלכל יוסף את אביו ואת אחיו ואת כל בית אביו לחם לפי הטף׃
13 घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।
ולחם אין בכל הארץ כי כבד הרעב מאד ותלה ארץ מצרים וארץ כנען מפני הרעב׃
14 मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
וילקט יוסף את כל הכסף הנמצא בארץ מצרים ובארץ כנען בשבר אשר הם שברים ויבא יוסף את הכסף ביתה פרעה׃
15 जब मिश्र र कनानमा भएका सबै आफ्‍ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्‍न दिनुहोस्‌ । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ?”
ויתם הכסף מארץ מצרים ומארץ כנען ויבאו כל מצרים אל יוסף לאמר הבה לנו לחם ולמה נמות נגדך כי אפס כסף׃
16 योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु ।”
ויאמר יוסף הבו מקניכם ואתנה לכם במקניכם אם אפס כסף׃
17 यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्‍तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न खुवाए ।
ויביאו את מקניהם אל יוסף ויתן להם יוסף לחם בסוסים ובמקנה הצאן ובמקנה הבקר ובחמרים וינהלם בלחם בכל מקנהם בשנה ההוא׃
18 त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ र जग्‍गाजमिनबाहेक अरू केही छैन ।
ותתם השנה ההוא ויבאו אליו בשנה השנית ויאמרו לו לא נכחד מאדני כי אם תם הכסף ומקנה הבהמה אל אדני לא נשאר לפני אדני בלתי אם גויתנו ואדמתנו׃
19 हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन् ।”
למה נמות לעיניך גם אנחנו גם אדמתנו קנה אתנו ואת אדמתנו בלחם ונהיה אנחנו ואדמתנו עבדים לפרעה ותן זרע ונחיה ולא נמות והאדמה לא תשם׃
20 यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्‍ना जग्‍गाजमिन बेच्यो । यसरी जग्‍गाजमिन फारोको भयो ।
ויקן יוסף את כל אדמת מצרים לפרעה כי מכרו מצרים איש שדהו כי חזק עלהם הרעב ותהי הארץ לפרעה׃
21 मिश्रको एक छेउदेखि अर्को छेउसम्‍मका सबै मानिसहरूलाई तिनले कमारा बनाए ।
ואת העם העביר אתו לערים מקצה גבול מצרים ועד קצהו׃
22 पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो । फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे । त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेचेनन् ।
רק אדמת הכהנים לא קנה כי חק לכהנים מאת פרעה ואכלו את חקם אשר נתן להם פרעה על כן לא מכרו את אדמתם׃
23 योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्‍ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर ।
ויאמר יוסף אל העם הן קניתי אתכם היום ואת אדמתכם לפרעה הא לכם זרע וזרעתם את האדמה׃
24 तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ ।”
והיה בתבואת ונתתם חמישית לפרעה וארבע הידת יהיה לכם לזרע השדה ולאכלכם ולאשר בבתיכם ולאכל לטפכם׃
25 तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस्‌ । हामी फारोका कमारा हुनेछौँ ।”
ויאמרו החיתנו נמצא חן בעיני אדני והיינו עבדים לפרעה׃
26 यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ । पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन ।
וישם אתה יוסף לחק עד היום הזה על אדמת מצרים לפרעה לחמש רק אדמת הכהנים לבדם לא היתה לפרעה׃
27 त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।
וישב ישראל בארץ מצרים בארץ גשן ויאחזו בה ויפרו וירבו מאד׃
28 याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो ।
ויחי יעקב בארץ מצרים שבע עשרה שנה ויהי ימי יעקב שני חייו שבע שנים וארבעים ומאת שנה׃
29 जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्‍वासयोग्यता र भरोसा देखा । कृपा गरेर मलाई मिश्रदेशमा नगाड्‌ ।
ויקרבו ימי ישראל למות ויקרא לבנו ליוסף ויאמר לו אם נא מצאתי חן בעיניך שים נא ידך תחת ירכי ועשית עמדי חסד ואמת אל נא תקברני במצרים׃
30 म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु ।”
ושכבתי עם אבתי ונשאתני ממצרים וקברתני בקברתם ויאמר אנכי אעשה כדברך׃
31 इस्राएलले भने, “मसँग शपथ खा ।” अनि योसेफले शपथ खाए । तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे ।
ויאמר השבעה לי וישבע לו וישתחו ישראל על ראש המטה׃

< उत्पत्ति 47 >