9हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।
10तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्नेछन् ।
11तैँले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको सामु त्यस बाछोलाई मार्नू ।
12बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।
13आन्द्रा-भुँडी ढाक्ने सबै बोसो र कलेजो ढाक्ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।
14तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।
15तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
16भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।
17त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत
18वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्ना भएको होमबलि हो ।
19त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
20अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।
21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।
22तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।
23परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।
24तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।
25त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।
26हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।
27तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।
28यो हारून र त्यसका छोराहरूका लागि अनन्तको विधि हुनेछ । इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो ।
29हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।
30हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।
31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।
32हारून र त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।
33मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।
34अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।
35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।
36हरेक दिन प्रायश्चित्तको लागि तैँले एउटा बाछो पापबलिको रूपमा चढाउनू । वेदीको लागि प्रायश्चित्त गरेर तैँले यसलाई शुद्ध पार्नू, र यसलाई मेरो लागि अलग गर्न यसलाई अभिषेक गर्नू ।
37सात दिन लगाएर वेदीको लागि प्रायश्चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।
38तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू ।
40पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।
41तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।
42मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।
43म इस्राएलीहरूसित त्यहीँ नै भेट गर्नेछु । मेरो महिमाद्वारा पाल मेरो लागि अलग गरिनेछ ।
44म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।
45म इस्राएलीहरूका बिचमा बस्नेछु र तिनीहरूका परमेश्वर हुनेछु ।
46म तिनीहरूका बिचमा बस्न सकूँ भनेर तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन् । म परमप्रभु तिनीहरूका परमेश्वर हुँ ।