< उपदेशक 11 >
1 तेरो अन्न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् ।
2 त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
3 बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्, र रुख उत्तर वा दक्षिणतिर ढल्यो भने त्यो जहाँसुकै ढले तापनि त्यो रहने छ ।
4 बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।
5 जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्चाका हड्डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्टि गर्नुहुने परमेश्वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।
6 बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।
7 उज्यालो वास्तवमै रमणीय हुन्छ, र घामलाई देख्न पाउनु आँखाको लागि मनोहर कुरो हो ।
8 कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
9 हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्न सक्ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
10 तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।