< मत्ती 18 >
1 त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?”
2 येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्नुभयो,
3 र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
4 त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
6 तर ममा विश्वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
7 कठिनाइको समयको कारण यस संसारलाई धिक्कार! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्कार जसद्वारा यस्तो समय आउँछ!
8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । (aiōnios )
9 यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । (Geenna )
10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
11 किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।
12 तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्न हिँड्दैन र?
13 अनि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ ।
14 त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न ।
15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्त गर्नेछौ ।
16 तर यदि उसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तिन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् ।
17 र यदि उसले तिनीहरूको कुरा पनि सुन्न इन्कार गर्दछ भने, यो विषय मण्डलीलाई बताऊ । यदि उसले मण्डलीलाई पनि सुन्न इन्कार गर्दछ भने, ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् ।
18 साँच्चै म तिमीहरूलाई भन्दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।
19 अझ म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ ।
20 किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।”
21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्यो भने मैले उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?”
22 येशूले उनलाई भन्नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।
23 यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्का तिर्नुपर्ने थियो ।
25 तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्नी, त्यसका बालबच्चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
26 त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्टो पर्यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
27 त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।
28 तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’
29 तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
30 तर त्यो पहिलो नोकरले इन्कार गर्यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो ।
31 जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।
32 त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।
33 मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’
34 त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।
35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।